सधै आफ्नै काममा ब्यस्त रहने, घरको काम बाहेक अन्य कुरा सोच्न समेत समय नपाउने डोल्पा जस्तो विकट जिल्लावासीहरुको नियति नै हो । तथापी आजभोली यस जिल्लाका रहँ, लावन र सहरतारा गाविसका महिलाहरु कामको चाजोपाजो मिलाई बैठक बस्ने, स्वास्थ्य समस्याहरु माथि छलफल गर्नका लागि महिनाको एक दिन समय निकाल्न थालेका छन् । परिणाम स्वरुप समाजका महिलाहरु आफुमा रहेका स्वास्थ्य समस्याहरु खुलेर बताउने र समाधानको उपायमा पनि छलफल गर्ने गर्दछन ।
विगतमा बैठक भन्ने कुरा थाहा नभएको तर अहिले हुने नियमित बैठक तथा स्वास्थ्य समस्याहरुमा हुने छलफलले गर्दा समस्या पहिचान तथा समाधानमा पनि सहजता बनाएको कुरा शहरतारा २ नं. वडाकी कोला दिदीबहिनि स्वास्थ्य आमा समुहकी अध्यक्ष श्रीमती आइती बुढा को भनाइ रहेको छ ।
घरको कामको कारण आफ्नो स्वास्थ्यको विषयमा जानकारी लिन नपाएका यस क्षेत्रका महिलाहरु नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाद्वारा सञ्चालित सामुदायिक स्वास्थ्य र खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजना लागु भए पश्चात गाविसमा गठन भएका स्वास्थ्य आमा समुह मार्फत सक्रिय हुँदै समुहको बैठकमा स्वास्थ्य सम्बन्धी बिषयमा छलफलाई नियमितता दिन थालेका हुन ।
सहरतारा गाविसमा कार्यरत महिला स्वास्थ्य स्वयमसेविका च्यामा रोकाय भन्नुहुन्छ “पहिले त हामिलाई यस्ता विषयमा कुरा गर्न पनि लाज लाग्थ्यो, र सुन्ने मानिस पनि हुँदैनथे” उहाँ अगाडि थप्नुहुन्छ “तर आजभोलि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाको सामुदायिक स्वास्थ्य तथा सरसफाइ कार्यक्रम लागु भएपछि हाम्रो यो बानीमा परिवर्तन भएको छ ।”
यसैगरी नियमित रुपमा बैठक बसेर स्थानीय स्वास्थ्य समस्याका विषयमा कुरा गर्न थालेपछि आफुमा भएको रोग नलुकाइ उपचार गर्न आउनेको संख्यामा समेत बृद्धि भएको कुरा लावन स्वास्थ्य चौकीका अहेव भिम बहादुर केसी को अनुभव रहेको छ ।
स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने तथा नेपाल सरकारद्वारा उपलव्ध निःशुल्क स्वास्थ्य सेवा उपभोगमा जनतालाई सुसुचीत गराउने जस्तो महत्वपुर्ण काममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डोल्पाले दिएको साथ प्रति खुसी व्यक्त गर्दै जिल्लाका अन्य गाविसमा समेत यस कार्यक्रम विस्तार गरिदिए अझ राम्रो हुने कुरा जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख दिपक कुमार झा बताउनुहुन्छ ।


No comments:
Post a Comment